FLASH NEWS

इन्दोर पुगे प्रधानमन्त्री प्रचण्ड, सुरक्षा व्यवस्था निकै कडा


नेपाल आवाज १९ जेष्ठ २०८०, शुक्रबार १२:५५ मा प्रकाशित १०६३ पाठक संख्या

काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् ।


इन्दोरमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि रेड कार्पेट बिछ्याइनुका साथै साँस्कृतिक प्रस्तुतिसहित स्वागत गरिएको थियो । स्वागतमा सहभागीहरु नेपाल–भारतका झण्डासहित उपस्थित भएका थिए । साँस्कृतिक टोलीले परम्परागत पोशाकसहित नृत्य प्रस्तुत गरेका थिए ।

इन्दोरका सडक किनार, मुख्य चोक र विद्युतका पोलहरुमा प्रचण्डको स्वागतमा उनको तस्वीरसहित ब्यानर र बोर्डहरु राखिएका छन् । प्रचण्डको भ्रमणलाई केन्द्रित गरेर सहरको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ ।

उनले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमूनायोग्य मानिन्छ । इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रुपमा चिनिन्छ ।

अहिले इन्दोरबाट प्रधानमन्त्री प्रचण्ड उज्जैनतर्फ प्रस्थान गरेका छन् । उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन् ।

बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपाका नेताहरूसँग भेटघाट गर्ने सम्भावनासमेत छ ।