FLASH NEWS

प्रधानमन्त्रीलाई भेटेर माधव नेपालले गरे बजेट करेक्सन गर्न आग्रह


नेपाल आवाज २९ जेष्ठ २०८०, सोमबार १६:०७ मा प्रकाशित १२०१ पाठक संख्या

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बजेट करेक्सनका लागि आग्रह गरेका छन् ।


सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपालले बजेट सच्याउन आग्रह गरेका हुन् । सबैलाई समेट्ने गरी बजेट आउन नसकेको नेपालले बताए ।

सो क्रममा,प्रधानमन्त्री प्रचण्डले बजेट निर्माणको क्रममा समय अभावको कारणले छलफल गर्न नपाएको बताएका छन् । आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता जनाए ।

नेकपा एसका अध्यक्ष नेपालसहित नेताहरुले बजेट यही अवस्थामा पारित गरे सरकार ढाल्ने चेतावनीपछि प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई बालुवाटार बोलाएका थिए ।

नेपालले तीन जिल्ला डडेल्धुरा, गोरखा र मकवानपुरमा मात्रै अत्यधिक बजेट पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैबीच,अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन जिल्लामा बढी रकम बिनियोजन गरिएकोप्रति स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदै उनले तीन जिल्लामा बिनियोजन गरिएको बजेट ठूलो नभएको दाबी गरे ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कूल रु एक सय २३ अर्ब विनियोजन भएको छ । त्यसैले तीन जिल्लामा छुट्ट्याएको रकम ठूलो होइन’, उनले भने ।

उनले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको स्पष्ट परे ।