FLASH NEWS

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा राखियो पेसमेकर


नेपाल आवाज ५ असार २०८०, मंगलवार १५:२९ मा प्रकाशित १९६९ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ। मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको स्रोतले जानकारी दिएको छ।


राष्ट्रपति पौडेल शीतल निवासमै गत शनिबार राति २ बजे बेहोस भएपछि  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

त्यहाँ जाँच गर्दा मुटुको चाल कम पाइएपछि पौडेललाई तत्कालै मनमोहन सेन्टरको सीसीयूमा राखेर उपचार थालिएको थियो।

उनको मुटुको चाल कम भएकाले अस्पतालले केही दिनसम्म निगरानीमा राखेर मनिटरिङ गरिरहेको थियो। तर मुटुको चाल सुधारउन्मुख नभएपछि शल्यक्रिया गरेर पेसमेकर राखिएको मनमोहन स्रोतले जानकारी दिएको छ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

पौडेललाई गत मंगलबार छातिको बीचमा असहज भएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्‍याइएको थियो ।

त्यतिबेला उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार रोकिएको थियो। गंगालालमा एन्जिओप्लास्टी गरेर मुटुको नसा खुलाइएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका थिए।

पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।

उदाहरणका लागि पेसमेकर प्रति मिनेट ७० मा राखिएको छ भने त्यसले मुटुलाई मिनेटमा ७० पटक धडकिन सहयोग गर्छ। मुटुको चाल कम भएका बिरामीको मुटुको शल्यक्रिया गरेर चलाउ ब्याट्री राख्नुलाई नै पेसमेकर भनिन्छ ।

एक पटक शल्यक्रिया गरेर राखेको पेसमेकरले चार देखि १० वर्ष काम गर्छ। त्यसले काम गर्न छाडेपछि फेरि ब्याट्री फेर्नुपर्ने हुन्छ।