FLASH NEWS

साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपालले हार व्यहोरो


नेपाल आवाज ६ असार २०८०, बुधबार १९:०२ मा प्रकाशित २३४१ पाठक संख्या

काठमाडौं – भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।


बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।

पहिलो पटक साफ खेलिरहेको कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे ।

नेपालका अन्जन विष्टले एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।

खेलको ४२ औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।

खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।

नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि खेलको ६८ औं मिनेटमा अन्जनले गोल गरेपनि नेपाल ३-१ ले पराजित भयो । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो । उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए ।

यससँगै साविक उपविजेता नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

समूह ‘ए’ मा रहेको कुवेतले भने पहिलो खेलमै ३ अंक जोडेको छ । यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।

साफ च्याम्पियनसिपमा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा अब शनिबार घरेलु टोली भारतसँग खेल्नेछ ।  यो समूहमा पाकिस्तान पनि छ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।