FLASH NEWS

उड्ययन प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै बालेनले हाले रिट


नेपाल आवाज ७ असार २०८०, बिहीबार १३:०७ मा प्रकाशित १७११ पाठक संख्या

काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि मेयर बालेन शाहले रिट दायर गरेका छन्।


मेयर शाहले बुधबार उच्च अदालत पाटनमा प्राधिकरणलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग उनले रिट हालेका हुन्।

उक्त रिट उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ।

काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई महानगरपालिकाका नगर प्रहरीले फेन्सिङ तार काटेको थियो। त्यसपछि प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐन अनुसार किन करबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो । उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको थियो।

प्राधिकरणका कर्मचारीले तार नकाट्न अनुरोध गरेता पनि नगर प्रमुखको आदेशबमोजिम आफूहरूले सो कार्य गरेको नगर प्रहरीले बताएको थियो।

प्राधिकरणले सोधेको स्पष्टिकरणमा भनिएको छ, ‘तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो? यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ / ३२ को निर्णयानुसार जानकारी गराइन्छ।’

मेयर शाहले प्राधिकरणलाई स्पष्टीकरण भने बुझाएको छैन। स्पष्टीकरण पुगेको सातौं दिन उच्च अदालत, पाटनमा वारेसमार्फत दायर गरिएको रिटमा संविधान विपरीत र महानगरको संस्थागत काममा प्रत्यक्ष प्रतिकूलअसर पुग्ने दाबी गरिएको छ ।