FLASH NEWS

उपप्राध्यापक प्रेम चलाउनेले स्थगित गरे अनसन


नेपाल आवाज ८ असार २०८०, शुक्रबार ११:३१ मा प्रकाशित ११६५ पाठक संख्या

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् ।


उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।

चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए ।

सर्वोच्च अदालतले विहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो ।

०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा चलाउनेमाथि मरणासन्न हुनेगरी कुटपिट भएको थियो।

नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव  योगेन्द्र रावल, रूपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज रानामगर र दीपक ओझाले चलाउनेमाथि कुटपिट गरेको आरोप छ।

घटनाको अनुसन्धानपछि  प्रहरीले उनीहरूविरूद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने कसूरमा सजाय हुनुपर्ने दाबीसहितको मुद्दा दायर गरेको थियो।

तर, सरकारले गत जेठ ३० गते उनीहरूविरूद्धको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।  मुद्दा फिर्ता गर्ने निर्णयको विरोध गर्दै अनसन बस्न काठमाडौं जिल्ला अदालत परिसर गएका चलाउने त्यहीँबाट पक्राउ समेत परेका थिए।

चलाउनेले आफूविरूद्ध आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। त्यसयता उनी त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसनरत छन्।