FLASH NEWS

२०८४ को चुनावमा रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैनः रवि लामिछाने


नेपाल आवाज ९ असार २०८०, शनिबार १७:१६ मा प्रकाशित १५३७ पाठक संख्या

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।


शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ–काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए।

उनले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क गरे।

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिरसमेत गरे। उनले भने, ‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म ऊसको सहयोगी हुन सक्छु कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरुसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।’

लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरुबीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए।

उनले भने,‘‘मैले बारम्बार भन्ने गरेको छु साथीहरुलाई लेखेर पनि राख्नुस् है ठूलो अक्षरमा बिर्सेला भनेर हिजो अस्ती पनि भनेको थिएँ कि हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं । अरुले हामीलाई लडाउने तागतनै राख्दैन’ लामिछानेले भने, ‘म यति भन्न चाहन्छु । प्रयास त हुन्छन, भइरहेका छन् । अहिले देख्नु भएको छैन संगठित रुपमा हामीलाई लडाउने प्रयास भइरहेको छ । यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरुको फोटो राख्दै ।’

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् असहिष्णु व्यवहार प्रर्दशन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरुलाई सचेत गराए।

हाम्रा पार्टीका कार्यकर्ता र समर्थकहरुले विपक्षको भन्दा पनि माथि उठेर गाली गलौजको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने उनको भनाई थियो ।

सभापति लामिछानेले इमानमा रहेका दिनसम्म मात्रै नेताहरुको बचाउमा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । उनले सभ्य र शिष्ट ढंगले विपक्षहरुको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटकपटक दोहोर्याए ।

सभापति लामिछानेले भने, ‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन् । असाध्यै धेरै गालीगलौैज गर्छन् भनेर आरोप लागेको छ । अब त्यो आरोप खपेर बस्न मिल्दैन । एउटा राजनीतिक दलका रुपमा समर्थकहरुले जे मन लाग्यो, त्यही भनिरहँदाखेरी त्यो दलको नेताहरुलाई त्यसको असर पर्छ ।  पार्टी सभापतिको हैसियतले मैले फेरी पनि तपाईहरुलाई भन्न चाहन्छु–आएका गाली, आलोचनाहरुलाई त्यो भन्दा तल गएर गाली गर्नु हुँदैन ।’

लामिछानेले भ्रष्टहरुलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहेन प्रतिवद्धता समेत दोहोर्याए ।