FLASH NEWS

क्रिकेट टोलीलाई ओलीको सान्त्वना-‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ’


नेपाल आवाज १० असार २०८०, आईतवार १०:५५ मा प्रकाशित १७८३ पाठक संख्या

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइसिसी विश्वकप छनोटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई असफलता यात्राको अन्त्य होइन भन्दै सान्त्वना दिएका छन्।


पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज विहान सामाजिक सञ्जालमार्फत् एक सन्देश दिँदै यस्ताे सान्त्वना दिएका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार नेदरल्याण्डस्‌सँग ७ विकेटले पराजित भएपछि विश्वकप छनोटबाट बाहिरिएको थियो।

ओलीले कहिलेकाहीं मेहनतकाे बाबजुत पनि परिणाम प्राप्त नहुने भन्दै यसबाट निराश नहुन टिमका सदस्यलाई अनुराेध गरेका छन्।

साथै उनले नेपाल फर्किएपछि सँगसँगै खाना खानेगरी भेट्न पनि आग्रह गरेका छन्।

ओलीले मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भएपनि खेल हेरेको पनि बताएका छन्।

ओलीले फेसबुकमा लेखेका छन् ‘हिजो (शनिबार) मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाइभ हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरेँ। आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौंँ। मेहनत जननी हो भने परिणाम शिशु। कहिलेकाहीँ मेहनतका बाबाजुत पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम! नेपाल फर्केपछि सँगसँगै खाना खाने गरी भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’