FLASH NEWS

लागूऔषधको प्रयोग नेपालमा समस्याको रूपमा देखा पर्दै आएको छ : मन्त्री श्रेष्ठ


नेपाल आवाज ११ असार २०८०, सोमबार १२:१५ मा प्रकाशित १३५१ पाठक संख्या

काठमाडाैं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबै पक्षबाट इमानदार प्रयासको आवश्यकता रहेको बताएका छन् ।


सोमवार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागूऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा पर्दै आएको उनले बताए ।

गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको पाइएको मन्त्री श्रेष्ठको भनाई छ ।

उनले लागूऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागू औषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको बताए ।
उनले नेपालमा लागू औषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको तथ्यांकले देखाएको बताए ।

सम्बद्ध निकायको समन्वय र सहकार्यबाट लागू औषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनः स्थापना, जोखिम न्यूनीकरण, बिरामीको सामाजिक पुनः स्थापना जनचेतना मूलक अभियानको रूपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मूल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

लागूऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता भन्ने नाराकासाथ यस वर्षको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।