FLASH NEWS

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान


नेपाल आवाज १३ असार २०८०, बुधबार १०:५० मा प्रकाशित १३०९ पाठक संख्या

काठमाडौं-  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।


उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

श्रेष्ठ छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण भइ आजै ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र सहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने तालिका छ । सोही दिन साँझ उनी चिनियाँ कम्युनिस्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचुवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ भने त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई उनले सम्बोधन मन्तव्य समेत दिनेछन् । त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन् । यस्तै दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट गर्नेछन् ।

शनिबार बिहान श्रेष्ठले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन गर्नेछन् । दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन् ।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११:१० बजे उपप्रधानमन्त्री श्रेष्ठको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन् ।