FLASH NEWS

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै


नेपाल आवाज १४ असार २०८०, बिहीबार ०७:०६ मा प्रकाशित २८३९ पाठक संख्या

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।


एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्।

भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ। एक वर्षमा २४ एकादशी पर्छन्। यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्।

नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।

हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिर, फर्पिङस्थित शेषनारायण मन्दिर,उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ।

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ।

तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ।