FLASH NEWS

ललिता निवास प्रकरण: अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी


नेपाल आवाज १५ असार २०८०, शुक्रबार १२:२९ मा प्रकाशित १५२५ पाठक संख्या

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ ।


जिल्ला अदालत काठमाडौंले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर बस्न्यातले पनि सरकारी लिखत किर्ते गरेको आरोप छ । भूमिसुधार मन्त्रालयको सचिव हुँदा उनले ललिता निवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गरेका थिए ।

लिखत किर्ते गरेको कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ,पूर्व निर्वाचन आयुक्त सुधीर शाह र धर्म प्रसाद गौतमसहित ४ जनालाई सिआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रकरणमा पक्राउ परेकामध्ये तीन आरोपित गुरुङ, शाह र गौतमले दायर गरेकाे बन्दीप्रत्यक्षीकरणक सम्बन्धी रिटमाथि आज सुनुवाइ हुँदै छ ।

उनीहरुको रिट सुनुवाईका लागि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ । उनीहरुले नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

ललिता निवास जग्गा अनियमिततामा मुछिएकाहरुमध्ये १७ जनाले १५ महिनाअघि नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश (स्टे अर्डर)लिएर बसेका थिए । जसमध्येका ३ जना सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी पक्राउ परेकै दिन गत मंगलबार रिहा भएका थिए। त्यही बाटो समाउन अरु आरोपितहरु पनि बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।