FLASH NEWS

चितवन एयरपोर्टमा केपी-रविको भेट: माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे साथ


नेपाल आवाज १५ असार २०८०, शुक्रबार १५:३९ मा प्रकाशित १७८३ पाठक संख्या

चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच जम्काभेट भएको छ ।


चितवनको भरतपुर विमानस्थलमा ओर्लने क्रममा ओली र रविबीच जम्काभेट भएको रास्वपा केन्द्रीय सदस्य दीपक बोहोराले बताए ।

भेटमा आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवनमा आफूले केरा र माछा आत्मनिर्भर बन्ने प्रयास गरेको ओलीलाई रविले बताए ।

रविले ओलीलाई भने, ‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरा चाहिँ बाहिरबाट ल्याउन पाइँदैन भनेर अभियान सुरु भएको छ । क्रमशः हामी बढाउँदै जान्छौं । सुरुवात त गर्नुपर्‍यो नि !’

आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै उनले ओलीको साथ खोजेका हुन् ।

उनले आफ्नो अभियानलाई साथ दिन ओलीलाई आग्रहसमेत गरे । रविको आग्रहपछि ओलीले हुन्छ भन्दै जवाफ फर्काएका थिए ।

सँगै रहेकी ओली पत्नी राधिकाले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन । जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’

राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका ओलीले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताउँदै आएका छन् ।