FLASH NEWS

नारायणगढ-मुग्लिन सडक खण्ड: थप पहिरो नखसे साँझसम्म सञ्चालनमा आउने


नेपाल आवाज १५ असार २०८०, शुक्रबार १५:५४ मा प्रकाशित १६८१ पाठक संख्या

चितवन – बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ।


सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनले बताए ।

दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन्। पौडेलका अनुसार थप पहिरो नखसेमा साँझ ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ।

सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन। ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको हो। सडक सञ्चालनमा आए पनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

चौबीस घण्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका छन्।  पोखरातर्फको क्षेत्रमा जाने सवारी साधनलाई निर्वाध चल्न दिन अधिकतम प्रयास गरिएको प्रहरीको भनाइ छ ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र अवरुद्ध हुने गरेको छ। तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडकखण्ड हुँदै दैनिक औसतमा  १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् ।