FLASH NEWS

झण्डै २८ घण्टापछि मुग्लिन–नारायणगढ सडक खण्ड दुइतर्फी खुल्यो


नेपाल आवाज १५ असार २०८०, शुक्रबार १७:२८ मा प्रकाशित २३३५ पाठक संख्या

चितवन- बिहीबार मध्याह्नबाट अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड झण्डै २८ घण्टापछि दुइतर्फी खुलेको छ ।


सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

आज बिहान ८ः३० बजेदेखिको निरन्तरको प्रयासपछि अपरान्ह ५ बजे देखी सडक दुइतर्फी सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र अवरुद्ध हुने गरेको छ। तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरेको थियो ।

सडकको माथिल्लो भागबाट निरन्तर पहिरो झर्ने क्रम भने यथावत् रहेकाले यात्रा गर्दा सचेत रहनुपर्ने प्रहरीको भनाई छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडकखण्ड हुँदै दैनिक औसतमा  १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् ।