FLASH NEWS

पहिरोले नारायणगढ–मुग्लिन सडक खुल्ने रोकिनेक्रम जारी


नेपाल आवाज १६ असार २०८०, शनिबार ०८:२७ मा प्रकाशित १४२९ पाठक संख्या

चितवन – सडक माथीबाट खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक खुल्ने रोकिनेक्रम जारी छ । बिहीबारदेखि इच्छाकामना गाउँपालिका–५ तीन किलो तुइन खोला नजिकै पुलको मुखमा पहिरो खस्ने क्रम रोकिएको छैन ।


शुक्रबार साँझबाट दुईतर्फी खुलाइएको सडक बिहान  ३ बजेबाट पुनः रोकिएको थियो । अहिले फेरि खुलाइएको छ । फेरि रोकिन सक्ने संभावना टरेको छैन ।

सडक बिस्तार र तुइन खोलामा नयाँ पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काटेको स्थानमा पहिरो झरिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए।

बिहीवारदेखि त्यस क्षेत्रमा पटक पटक पहिरो खस्ने क्रम रोकिएको छैन । यति बेला भारी वर्षा भइरहेको र ठाउँठाउँमा सामान्य माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारि साधन सावधानीका साथ चलाउन प्रहरीले अनुरोध गरेको छ । पहिरो झरि सडक अबरुद्ध भईरहने हुनाले उक्त स्थानमा अपरेटर सहितको मेशिन तैनाथ रहेको छ ।

हिजाे देखीकाे सडक अवराेधले गर्दा त्यस क्षेत्रमा सवारीको अत्याधिक जाम लागेको छ ।  पुर्वपश्चिमका लागि छुटेको यात्रु बस, मालबाहक ट्रक र साना सवारीहरु पनि जाममा परेका छन्। अन्य वैकल्पिक सडक पनि नभएकोले मुग्लिन हुँदै पोखरातर्फ आउजाउ गर्ने र काठमाडौंबाट मुग्लिन हुँदै अन्यत्र पुग्ने सवारीहरुलाई प्रहरीले राजमार्गको ठाउँ ठाउँमा रोकेको छ ।

मुख्य लाइफलाइन मानिएको यो सडकखण्ड हुँदै दैनिक औसतमा १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् । बाटोको अवस्था हेरि सुरक्षित यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।