FLASH NEWS

नारायणगढ–मुग्लिन सडक अपडेट: बिभिन्न ठाउँमा खसेकाे पहिराे हटाउने क्रम जारी


नेपाल आवाज १६ असार २०८०, शनिबार १४:२१ मा प्रकाशित १९९९ पाठक संख्या

मुग्लिन- नारायणगढ–मुग्लिन सडकखण्डमा केहीबेर अघी पुनः पहिरो खसेर अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला र टाेपे खाेला नजिक पहिरो खसेपछि सडक पुनः अवरुद्ध बनेको हो ।


अहिले पहिरो पन्छाउने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । शुक्रबार साँझबाट दुईतर्फी खुलाइएको सडक बिहान  ३ बजेबाट पुनः रोकिएको थियो । बिहीवारदेखि त्यस क्षेत्रमा पटक पटक पहिरो खस्ने क्रम रोकिएको छैन । सडक खुल्ने रोकिनेक्रम जारी छ ।

यति बेला वर्षा भइरहेको र ठाउँठाउँमा माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारि साधन सावधानीका साथ चलाउन प्रहरीले अनुरोध गरेको छ । पहिरो झरि सडक अबरुद्ध भईरहने हुनाले उक्त स्थानमा अपरेटर सहितको मेशिन तैनाथ रहेको छ ।

पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै त्यस क्षेत्रमा सवारीको अत्याधिक जाम लागेको छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडकखण्ड हुँदै दैनिक औसतमा १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् । बाटोको अवस्था हेरि सुरक्षित यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।