FLASH NEWS

प्रचण्ड भन्छन्- माधवजी र मैले फेरि नेकपा तिर फर्किनुपर्छ भनेका छौँ


नेपाल आवाज १७ असार २०८०, आईतवार १०:५४ मा प्रकाशित १८९१ पाठक संख्या

भक्तपुर – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता बचाउन नसकेकोमा दुखेसो पोख्दै समाजवादी मोर्चामार्फत पुनः नेकपा तिरै फर्कनुपर्ने बताएका छन्।


कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले एमाले-माओवादीबीचकाे एकता बचाउन नसकिएकाले अब फेरि कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्नेमा जाेड दिए। उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसाे पाेखे ।

‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ समाजवादतिर पनि जान सकिन्छ या दोयाउन सकिन्छ भनेर भनेको थिए । र कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो प्रतिक्रियाबादीहरुमा एउटा आंतक जस्तो भयो अब कम्युनिष्टहरुले ४० ५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।’

प्रचण्डले झण्डै २ तिहाई भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे। उनले के कारणले कम्युनिष्ट विभाजन भए गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।

‘सबैले चिन्तन गर्नुपर्यो कि हिजो केकारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन त्यहाँ विचारमा, राजनीतिमा, आचरण र संस्कृतिमा भावनामा कहाँ ऋुटी थियो । के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ । माधव र मैले के भनेका छौं भने फेरि नेकपा तिर फर्कनुपर्छ फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरापनि हामीले भनेका छौं ।’ उनले भने ।

प्रधानमन्त्री दाहालले हिजाेकाे दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुकाे कारण खाेजेर गम्भीर समीक्षा गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए ।