FLASH NEWS

स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश दिदैनौं,इमान बोकेर आउनेलाई ढोका खुला: रवि लामिछाने


नेपाल आवाज १७ असार २०८०, आईतवार १५:५४ मा प्रकाशित २०११ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने जिकिर गरेका छन् ।


गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीजस्तै पार्टी अरुको कब्जामा नपर्ने दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टीमा केही गर्छु भन्नेहरूको प्रवेश गरेका छन् । स्वार्थ भएका साथीहरू पनि यसो चिहाउँदै चाहिँ हुनुहुन्छ । त्यो पनि नदेखेको होइन पार्टीले देखेको छ । तर, चिन्ता मान्नु पर्दैन । हिजो माओवादी जस्तो, कांग्रेस एमाले जस्तो हुनेभयो । अब जो पनि छिर्ने भए पार्टीले भोट बढाउँने भन्दा घटाउने चर्चा छ । तर, पार्टीको ढोका सबैलाई खुला छ। तर, इमान बोकेर आउनेकाहरूलाई मात्रै हो ।’

अहिले ठूला दलहरु सत्ता जोगाउनका लागि गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेको आरोप लगाए । उनले भने, ‘यो गठबन्धन जनता जोगाउनको लागि बनेको होइन । त्यही देखेर वाक्कदिक्क भएर जनताले घण्टी बजाउन थालेका हुन् । जे आशाको साथ जनताले भोट दिएका छन् त्यसमा कुठाराघात गर्नको लागि एउटा स्वार्थ जोडिएको मान्छे जोडिनेबित्तिकै सबै यात्रा बिटुलो हुन्छ । हाम्रो यात्रालाई बिटुलो पार्नेलाई पार्टीभन्दा बाहिर राखेर भोटमात्रै बनाउनुहोला । ०८४ सम्म हामीले कुनै पनि खराब मान्छे, पैसोको बिटो बोकेको मान्छे टाढा राख्नैपर्छ । कुनै किसिमको दुर्गन्ध भएको मान्छेलाई बाहिर राख्नुपर्छ ।’

उनले देश र जनताको पक्षमा काम गर्न खोज्दा रास्वपालाई रोक्ने काम भए जनताले प्रतिकार गर्नुपर्ने जिकिर गरे । चुनावमा हार–जित स्वाभाविक भए पनि राजनीतिलाई कहिल्यै हार्न दिन नहुने उनको भनाइ छ ।

लामिछानेले संसदमा २१ जना सांसद भए पनि रास्वपाले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै आगामी दिन जनताले साथ दिए बहुमत सदस्यका साथ सदनमा प्रतिनिधित्व गर्ने धारणा व्यक्त गरेका छन् । उनले रास्वपालाई सरकारमा जाने अवस्था हुँदाहुँदै पनि जनताको सुझावका आधारमा प्रतिपक्षीमा बसेर काम गरिरहेको स्पष्ट पारे ।

मिसन ८४ मा रास्वपाको अर्जुनदृष्टि रहेको भन्दै यस अवधिमा राप्रपा बलियो पार्टी भएर उभिने उनले बताए । आगामी निर्वाचनलाई केन्द्रित गर्दै देशैभरी संगठन विस्तार गर्ने र देशैभरका नागरिकलाई घण्टीको अभियानमा सामेल गर्ने उनको भनाइ छ ।