FLASH NEWS

प्रितम सिंहको स्पष्टोक्ति- दुई देशबीचको सम्बन्ध सुधार गर्न भारत गएको हुँ


नेपाल आवाज २० असार २०८०, बुधबार २१:४४ मा प्रकाशित १६९९ पाठक संख्या

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले नेपाली राजनीतिलाई तरंगित बनाइरहेका बेला सरदार प्रितम सिंहले आफ्नो धारणा सार्वजनिक गरेका छन्।


बुधबार सञ्चारकर्मीहरूमाझ उनले आफू नेपाल र भारतबीचको सम्बन्ध सुधारका निम्ति दिल्ली गएको प्रस्टीकरण दिएका छन्।

उनले प्रधानमन्त्री प्रचण्डले त्यसो भनेर आफूप्रति माया देखाएको स्पष्ट पारे। ‘उहाँले जे भन्नुभयो। हामीप्रति माया देखाउनलाई भन्नुभएको होला। प्रधानमन्त्री बनाउन दिल्ली धाएको कुरा सत्य होइन,’ उनले भने। सोही क्रममा सिंहका छोराले आफूहरूबीच पारिवारिक सम्बन्ध रहेको बताए।

उनले नेपालमाथि नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती भएको स्पष्ट पारे। ‘नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती थियो। त्यही बेला म दुई देशबीचको सम्बन्ध सुधारका निम्ति भारत गएको हुँ। राजनीतिक विषयमा कुनै पनि छलफल भएको छैन,’ उनले भने।

उनले भूकम्पका बेला आफूले भारतबाट खाद्यान्न ल्याएर सहयोग गरेको बताए। ‘भूकम्पका बेला पनि भारत गएर ५-७ करोडको खाद्यान्न ल्याएको हुँ। हामीले दिनहुँ खाना खुवाएर आपतकालमा सहयोग गरेका छौं,’ उनले भने। उनले आफ्नो जन्मभूमि भारत भए पनि कर्मभूमि नेपाल रहेको बताएका थिए।

सिंहकै किताब विमोचनका क्रममा गत सोमबार प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले बुधबार दुवै सदन अवरुद्ध गरेको थियो। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन अवरोध गर्ने एमालेले जनाएको छ।