FLASH NEWS

ललिता निवास प्रकरण छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ


नेपाल आवाज २२ असार २०८०, शुक्रबार १२:०० मा प्रकाशित १२५५ पाठक संख्या

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् ।


मन्त्री श्रेष्ठले शुक्रबार निजी निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा हिनामिना प्रकरणमा भइरहेको अनुसन्धानमा संलग्न जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने बताए ।

‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन्’, मन्त्री श्रेष्ठले भने, ‘तथ्य र प्रमाण छैन भने कसैलाई दुःख दिन मिल्दैन ।’ उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईवी र त्रित्राल आयोगको प्रतिवेदनका आधारमा ललिता निवासबारे अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने भनेर प्रहरीलाई भनेको बताए ।

उनले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको वा राजनीतिक नेतृत्वकै संलग्नता हुने गरेको आरोप लगाए ।

सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधान गर्न आँट गरेको उनले बताए । त्यही अभियान स्वरुप आफूले गृहमन्त्री भएकै दिन सुराकी खर्च कटौती गर्ने निर्णय गरेको गृहमन्त्री श्रेष्ठले स्पष्ट पारे ।

आन्तरिक सुशासनबिना समाजमा सुशासन स्थापित गर्छु भन्नु फगत कुरा मात्र रहेको भन्दै उनले आन्तरिक सुशासनलाई पहिलो जोड दिनु पर्ने बताए ।