FLASH NEWS

प्रतिपक्षले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो?: प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज २५ असार २०८०, सोमबार १७:३४ मा प्रकाशित १३५७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै दिनुपर्ने हो भनेर सोधेका छन्।


प्रतिनिधि सभाको बैठकमा प्रष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले अभिव्यक्तिबारे स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु नै लोकतन्त्र, संसदीय मान्यता हो त? भनेर सोधेका हुन्।

उनले आफूले पुस्तक विमोचनका सन्दर्भमा बोलेका कुराबारे गम्भीर ढंगले प्रश्न उठेपछि त्यतिबेलै प्रष्टीकरण दिन चाहेको तर मौका नदिई संसद् अवरुद्ध गरिएको बताए।

‘संसदमा सानाठूला प्रश्नको जवाफ दिँदै आएको छु। संसद्मा उठेका प्रश्नको जवाफ दिनु मेरो जिम्मेवारी हो। पुस्तक विमोचनको अभिव्यक्तिप्रति प्रश्न उठ्ने बित्तिकै बोल्ने अवसरको निम्ति माग गरेको हुँ, यति गम्भीर प्रश्न उठिनै सकेपछि यथार्थ के हो भनेर स्पष्टीकरण दिने अवसर ठूलो कुरा थियो,’ उनले भने।

तर किन राजीनामा नै माग गरेर संसद अवरूद्ध गरियो आफूले बुझ्न नसकेको प्रधानमन्त्री प्रचण्डले बताए।

‘के यही हो संसदीय मान्यता? यसबारे प्रमुख प्रतिपक्षले नबुझेको पनि छैन,’ उनले भने, ‘के प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो? यो प्रतिवाद होइन, काउन्टर एट्याकको निम्ति पनि बोलिरहेको छैन। म स्पष्टीकरणकै निम्ति उभिएको छु।’

उनले गत असार १८ गते प्रितम सिंहले जेठी छोरी मृत्यु शय्यामा भएको बेला भनेको स्मरण मात्रै गरेको बताए। छोरीको उपचारका क्रममा सिंहले सहयोग रहेको, आश्रय दिएको र प्रधानमन्त्री बन्नुपर्छ भनेको सम्झिएको मात्रै बताए।

त्यसक्रममा सरदार सिंहले प्रधानमन्त्री तपाई नै हुनुपर्छ भनेको भन्दै उनले भने, ‘उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।’

हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको उनले सुनाए ।

‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के ?’ प्रचण्डले अगाडि भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने स्वीकार गरेका उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुबा भएर बोल्न पुगेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगे ।’

उनले स्वभावजन्य भावुकताका लागि आत्मसमीक्षा गरेको समते उनले बताएका छन् ।