FLASH NEWS

राजीनामा माग्नेलाई प्रचण्डको जवाफ : मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ


नेपाल आवाज २५ असार २०८०, सोमबार १८:०४ मा प्रकाशित १३८१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग गर्दैमा राजीनामा नदिने बताएका छन् । तर आफ्नो अन्तरआत्माले भनेमा एक मिनेट पनि पदमा नबस्ने बताए ।


१८ असारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि संसदमा स्पष्टीकरण दिएका उनले कमजोरी स्वीकार गरे । आफू भावुक भएको र प्रधानमन्त्रीका रुपमा नभई ज्ञानु (जेठी छोरी) को बाबुका रुपमा प्रस्तुत भएको बताए ।

त्यसक्रममा उनले आफ्नो राजीनामा माग्ने एमाले र राप्रपालाई समेत जवाफ दिएका छन् । आफूलाई कसले प्रधानमन्त्री बनायो भनेर प्रश्न गर्दा संसदमा भएका सबै दल पनि प्रश्नमा पर्छ भन्ने सम्झिन एमालेलाई आग्रह गरे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नाम नै लिएर नैतिकता कसले देखायो, कसले देखाएन विवेचना गर्न आग्रह गरे । ‘नैतिकताको कुरा भन्नुभयो, ठिक छ । नैतिकताको आधारमा कसले कति गर्‍यो भनेर विगत हेर्नुभयो भने हुन्छ’, प्रचण्डले भने, ‘हुन त माननीय राजेन्द्रजीको भर्खर दुई कार्यकाल भयोक्यारे तपाईँको ।’

उनले लिङ्देनलाई पहिलाको आफ्नो कार्यकालको हेर्न सुझाव दिए । ‘पहिलापहिलाको हेर्नुभयो भने दुईदुई पटक मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा तपाईँले पढ्नुभएको छ ? कस्तो परिस्थितिमा दिएँ, के आधारमा दिएँ ? छातीमा हात राखेर त्यसमा पनि गहिरोसँग विचार गर्न नैतिकता कसले देखायो, कसले देखाएन ?’, प्रचण्डले प्रश्न गरे ।

उनले विगतमा आफूले दुवै पटक नैतिकताको धरातलमा टेकेर नै राजीनामा दिएको दाबी गरे । ‘ दुवै पटक नैतिकताको धरातलमा टेकेर नै मैले प्रधानमन्त्री छोडेको हो’, प्रचण्डको भनाइ छ ।

उनले अहिले पनि आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताए ।

‘अहिले पनि मेरो अन्तरआत्माले । तपाईँले भनेर त म गर्न सक्दिनँ  । मेरो अन्तरआतमाले भन्यो भने एक मिनेट पनि बस्दिनँ म’, प्रधानमन्त्रीको जवाफ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, प्रतिपक्षले मागिहाल्यो, सत्तापक्ष भागिहाल्यो भने यो देशको गति के हुन्छ ? अहिले मैले त्यसो गरेँ भने भोलि तपाईँ प्राधनमन्त्री हुँदा पनि त्यस्तै हुने होला ।’