काठमाडौं – सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ’एनए–एमभी’ कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकै पर्ने लाम्जुरा भन्ने स्थानमा हेलिकप्टर खोजीका लागि प्रहरीहरू परिचालन गरिएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको जानकारी दिए ।
आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो ।
हेलिकोप्टरमा २ पुरुष र तीन महिला गरी पाँच जना मेक्सिकन नागरिक र एक जना नेपाली छन् । पाइलट चेत बहादुर गुरुङ रहेको प्रजिअ भट्टराईले बताए ।
यता, काठमाडौंबाट मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौँबाट ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको छ ।