FLASH NEWS

संघीयता र गणतन्त्रको अन्तिम विकल्प राजसंस्था पुनस्र्थापना : धवलशमशेर राणा


नेपाल आवाज ३० असार २०८०, शनिबार १९:०५ मा प्रकाशित १३५१ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाले राष्ट्र अहिले लिकभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।


आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नर्फिने बताएका हुन् ।

उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसंग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।

उनले अहिले देशमा रोजगारीको सम्भावना नै नरहेको पनि खराब स्थिति सुनाए । उनले देशको युवा पुस्ताले देशभित्र भविष्य नदेखेको कारण हाईस्कूल र प्लस टु लगत्तै विदेशिने सपना देख्नेगरेको पनि बताए ।

देश हिजो कहाँ थियो र अब कता जाँदैछ भन्नेबारेमा राजनीति गर्ने नेताहरु अनविज्ञ रहेको पनि उनको भनाई छ । २०६२/०६३ को जनआन्दोलन र गणतन्त्रपछि नेपाली जनता चढेको गाडी गन्तव्यमा पुग्नु पहिल्यै विग्रिसकेको उनको दाबी छ । उनले अहिलेको व्यवस्थामा जनता चिन्तित रहेको बताए ।

संघीयता र गणतन्त्र पूर्णरुपले असफल भैसकेको उनको दाबी छ । सिंहदरबार गाउँ–गाउँमा आउँछ भनेपनि गाउँ–गाउँमा राजारानीमात्रै पुगेको उनको टिप्पणी छ । गरिब देशले ४६ हजार राजारानी पाल्न नसक्ने उनले बताए ।

अहिले गाउँ–गाउँमा पुगेका ४६ हजार राजारानीले जनताको पक्षमा कुनै काम नगरेको र जनतालाई नटेरेको उनको आरोप छ । उनले देशमा अब परिवर्तन आवश्यक रहेको बताए । गणतन्त्र, यो संघीयता पूर्णरुपले असफल भएको उनको दाबी छ । ४६ हजार नेताहरुको पालन पोषण गरिब राज्यले गर्न नसक्ने उनको दाबी छ । अहिलेको संघीयता राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको उनको टिप्पणी छ ।

देशको माया राजालाई जति नेतालाई नहुने उनको दाबी छ । राजाले आफ्नो गद्दी जोगाउनका लागि पनि देशलाई माया गर्ने उनले बताए । ‘परिवर्तन गर्ने कि नगर्ने ? अगाडि बढ्ने कि नबढ्ने ? कि यो गरिब देशलाई यस्तै छाड्ने ? नचलेको व्यवस्था, नचलेको गाडी, फाटेको लुगा फेर्ने कि नफेर्ने ? यो गणतन्त्रलाई चलाइराख्ने कि परिवर्तन गर्ने ?’ भन्ने प्रश्न गर्दै उनले भने,‘हामीले प्रष्ट भीजन लिएर अगाडि बढेका छौं । यो देश दुई हजार वर्षबाट कुनै न कुनै प्रकारको राजसंस्थाले चलेको देश हो । राजाले आफ्नो गद्दीको लागि पनि देशलाई बचाइराख्छ ।’

अहिले नेताहरुले कुनबेला देश बेचिदिन्छन् भन्ने पनि डरको अवस्था रहेको उनको आरोप छ । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नसक्ने, आफ्नो रातो पासपोर्ट बेच्ने र सरकारी जग्गाजमिनसमेत हड्पिने नेताहरुले देश नबेच्लान भनेर विश्वास गर्न नसकिने उनको दाबी छ ।

हरेक पाँच वर्षमा एउटा राष्ट्रपति निवर्तमान हुने बताउँदै उनले निवर्तमान भएका पूर्वराष्ट्रपतिको पालनपोषण जिन्दगीभर गर्न यो देशले अब त्यो व्ययभार धान्न नसक्ने उनले बताए । अहिलेसम्मका तीनै जना राष्ट्रपति देशको भन्दा पनि पार्टी र व्यक्तिविशेषको भएको उनको आरोप छ । संघीयता र गणतन्त्रको अन्तिम विकल्प राजसंस्था पुनस्र्थापना भएको उनले बताए ।

‘राजा सबैको साझा हो । सबै नेपाली जनताले मानेको राजसंस्था हो । अहिले राष्ट्रपतिको जुन क्रियाकलाप देखियो, अहिलेकोमात्रै होइन, तीनवटै राष्ट्रपतिको क्रियाकपाल पार्टीको राष्ट्रपति, पार्टीभन्दा पनि व्यक्तिको राष्ट्रपतिसम्म देखियो,’–उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले देश चलाउने र राजनीति गर्ने राजालाई पुनस्र्थापना गर्न नखोजेको उनको भनाई छ । राष्ट्रपतिले राष्ट्रप्रति देखाउनुपर्ने बफादारिता, इमानदारिता र अभिभावकत्व देखाउन नसकेकाले आफूहरुले देशको अभिभावकको रुपमा राजालाई चाहेको उनको भनाई छ । देशको हितमा नभएको कुराहरुलाई देशको हितमा छैन भनेर अडान लिनसक्ने राजाको परिकल्पना राप्रपाले गरेको उनको दाबी छ । सबै राजनीति र नेतालाई एक ठाउँमा राखेर देशलाई अभिभावकको रुपमा राजा चाहेको उनले बताए ।

धर्मनिरपेक्षता नेपाली जनताको माग नभएर विदेशीको इशारामा त्यो आएको उनको दाबी छ । धर्मनिरपेक्षताको बारेमा जनआन्दोलनमा जनताले कुरै नउठाएको उनको दाबी छ । ८० प्रतिशत जनता हिन्दू भएको देशमा किन धर्मनिरपेक्षता लादियो भन्ने कुरा पनि जनताले बुझिसकेको र अब हिन्दुराष्ट्र पुनस्र्थापना भएरै छाड्ने उनको दाबी छ ।

संघीयता र गणतन्त्र नमान्ने राप्रपा किन संघ र प्रदेशको निर्वाचनमा सहभागी भएको भनेर आफूहरुलाई जनताबाट प्रश्न आइरहेको बताउँदै उनले संसद्मा गएर संविधानको माध्यमबाट नै व्यवस्था परिवर्तन गर्ने तयारी आफूहरुको रहेको जबराको भनाई छ । साथै, जनआन्दोलनको तयारीपनि भइरहेको र जनलहरबाट पनि यो व्यवस्था उल्टिनसक्ने उनको भनाई छ ।

साथै, उनले नेपाललाई सुहाउने राजतन्त्र आफूहरुको परिकल्पना भएको बताउदै विश्वमा एक सयभन्दा बढी क्रिश्चियन राष्ट्र भएको उल्लेख गर्दै उनले ८० प्रतिशत जनता हिन्दु भएको देशमा हिन्दुराष्ट्र अपरिहार्य भएको बताए ।