FLASH NEWS

नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले साउन १ देखि फोहोर फ्याँक्न नदिने


नेपाल आवाज ३१ असार २०८०, आईतवार १९:०७ मा प्रकाशित २५९९ पाठक संख्या

काठमाडौं – नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले भोलि (साउन १) देखि काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न नदिने तयारी गरेको छ।


नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनबेसी नगरपालिकाका स्थानीयहरूले उपत्यकाको फोहोर फ्याँक्न नदिने तयारी गरेका हुन्।

बन्चरेडाँडा फोहोरमैला पीडित संघर्ष समितिका संयोजक श्रीराम ढकालका अनुसार स्थानीयहरूले विरोध प्रदर्शनको तयारी अघि बढाएका हुन्। तर, आफूहरुको कमिटीले अहिलेसम्म कुनै विरोध प्रदर्शनको कार्यक्रम आयोजना नगरिएको उनले बताए।

उनका अनुसार प्रधानमन्त्री र मन्त्रीस्तरबाट नै एक महिनाका लागि अध्ययनको समय माग भएकाले स्थानीयहरूलाई सोही अनुसार आग्रह गरिएको थियो।

यद्यपि स्थानीयहरूले त्यहाँ फोहोर र दुर्गन्ध फैलिएको र आफूहरुको माग सम्बोधन नभएको भन्दै सोमबारबाट फोहोरमैला फ्याँक्न बन्द गराउने तयारी अघि बढाएका हुन्।

‘कि हामीलाई मारिदे, कि बस्ती सारिदे, फोहोर रहित मानव, मानव रहित फोहोर, फोहोर हामीलाई चाहिँदैन, मान्छे मार्न पाइँदैन,’ लगायतका नारासहित फोहोरमैला पीडित नागरिकहरू स्वतः आन्दोलन अघि बढाउन लागेका हुन्।