FLASH NEWS

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका लुम्बिनीका पूर्वमन्त्री यादव छुटे


नेपाल आवाज २ श्रावण २०८०, मंगलवार २०:०५ मा प्रकाशित १०९३ पाठक संख्या

काठमाडौं – बैंकिङ कसुर मुद्दामा पक्राउ परेका लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव सम्बन्धित व्यक्तिलाई रकम बुझाएपछि रिहा भएका छन्।


यादवले तीन वर्ष पहिले सापटी लगेको १२ लाख २८ हजार रुपैयाँ फिर्ता नदिएको भन्दै रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए।

मुद्दा दायरपछि जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा यादवलाई बाँके प्रहरीले आइतबार पक्राउ गरेको थियो। बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट पक्राउ परेका यादवलाई सोमबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको थियो।

प्रहरीले नियन्त्रणमा लिएपछि सापटी लगेको १२ लाख २८ हजार रकम सोमबार नै उमाशंकर यादवको बैंक खातामा यादवका आफन्तले जम्मा गरिदिएका थिए।

सोमबार नै रकम जम्मा गरे पनि पक्राउ परेका यादवलाई प्रहरीले मंगलबार मात्र रिहाइ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यादवले सोमबार नै रकम बुझाएको भए पनि आवश्यक प्रक्रिया पूरा नहुँदा मंगलबार मात्रै रिहाइ गरिएको बताए।

मुद्दा दायर गरेका यादवले केही समयलाई भनेर लगेको  सवा १२ लाख रुपैयाँ तीन वर्षसम्म पनि फिर्ता नआएपछि अदालतमा जान बाध्य भएको बताए । ढिलै गरि भएपनि सापटी दिएको सबै सावा रकम फिर्ता पाएकोमा  व्याज रकम भने नलिने गरि मिनाह गरिदिएको  उनले बताए ।