FLASH NEWS

कोशीमा नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार १५:४२ मा प्रकाशित ११५९ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आदेश दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आदेश दिएको हो।


सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डाआनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

कोशी प्रदेशका सभामुखले दिएको मत असंवैधानिक भएको भन्दै सर्वोच्चले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

साथै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ। अर्थात अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ।

कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन्।