FLASH NEWS

संसद्को अवरोध खोल्न सत्ता पक्ष नै तयार छैनन् : एमाले अध्यक्ष ओली


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार १७:४८ मा प्रकाशित १४१७ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अवरोध खोल्न सत्ता पक्ष नै तयार नभएको आरोप लगाएका छन् ।


तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले सत्ता पक्षले सभामुखलाई दबाब दिएर सदन रोकेको आरोप लगाएका छन् । आफूहरूले सदन चलाउन पर्छ भनेको दाबी गरेको बताए । उनले सुन प्रकरणबारे आवाज उठाउँछन् भनेर सरकारले सभामुखलाई दबाब दिएर सूचना टाँस्न लगाउँदै सदन रोकिएको बताए ।

‘सुन प्रकरणको संसदमा आवाज उठ्छ भनेर संसद चल्न दिनुभएन किन भने सांसद बोल्छन् भनेर, हामीले संसद चलाऔँ भनेका छौँ,’ उनले भने, ‘सांसद बोल्छ जनताको आवाज उठाउँछ, सरकार जनतालाई बोल्न दिँदैन्, सभामुखलाई दबाब दिन्छ तपाई सूचना टाँसेर राक्नुहोस् भनेर ।’

अध्यक्ष ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगर्ने समेत दाबी गरे। अध्यक्ष ओलीले सुन तस्करीबारे संसद्मा गृहमन्त्रीको जवाफ सुनौँ भन्दा समेत नमानेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’

उनले त्यत्रो सुन ल्याउँदा सबैले देख्ने तर सरकारले नदेख्ने गरेको बताए ।  अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले बाहेक अरूले देश चलाउनै नसक्ने दाबी समेत गरे ।