FLASH NEWS

सेनामा जागिर लगाउँछु भन्दै रकम असुली गर्ने आठजना पक्राउ


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार २०:४७ मा प्रकाशित १४६५ पाठक संख्या

दार्चुला – नेपाली सेनामा जागिर लगाउँछु भन्दै सर्वसाधारणबाट रकम असुली गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ। सेनामा जागिर लगाउने भन्दै १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै उनीलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–३ का २७ वर्षीय नरेन्द्रसिंह महर, ३१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिसनसिंह नगाल, २६ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलाली गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भुललाई पक्राउ गरिएको छ।

आफूहरूलाई सेनामा जागिर लगाउँछु भन्दै संगठित रूपमा रकम असुली गरेको भन्दै मालिकार्जुन गाउँपालिका–३ बस्ने श्यामसिंह धामीलगायतले उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख डिएसपी तर्कराज पाण्डले बताए। आफू सेनाको व्यक्ति हुँ भन्दै रकम माग गरे पनि जागिर लगाउन नसकेपछि घटना बाहिर आएको हो।

उनीहरूसँग भएको बयानको आधारमा ठगी गरेको प्रमाणित भएको डिएसपी पाण्डेले बताए। आफू देवीदल गण अत्तरियामा कार्यरत रहेको बताउने महाकाली नगरपालिका–३ बाजका नरेन्द्र महरले सेनामा जागिर लगाइदिने आश्वासन दिएर फरक–फरक मिति समयमा फरक-फरक व्यक्तिको बैंक खाता, इसेवामार्फत नगद मागेको प्रहरीको भनाइ छ। पक्राउ परेकाविरुद्ध ठगी धन्दामा मुद्दा दर्ताको तयारी भइरहेको उनले बताए।