FLASH NEWS

नेकपा माओवादी केन्द्रमा थपिए २२ जना केन्द्रीय सदस्य


नेपाल आवाज १९ श्रावण २०८०, शुक्रबार २०:४६ मा प्रकाशित १६०३ पाठक संख्या

काठमाडौं –  नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले २२ केन्द्रीय सदस्य थप गरेको छ ।


आज शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना सदस्य थप गरेको हो ।

थपिएका सदस्यहरुको नाम केन्द्रीय समिति बैठकले अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेको जानकारी महराले दिए ।

अहिले केन्द्रीय समितिको आकार केही ठूलो देखिए पनि विधान सम्मेलनपछि केन्द्रीय समितिको आकार सानो बनाइने प्रवक्ता महराले बताएका छन् ।

शुक्रबार अध्यक्ष प्रचण्डमाथिको प्रतिवेदनमाथि ६८ जनाले धारणा राखेको र जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता महराले जानकारी दिए । उनले बोले अनुसार काम गर्नुपर्ने र पार्टी निर्माणका साथै विस्तारमा सदस्यहरूले जोड दिएको उल्लेख गरेका छन् ।

त्यस्तै, समाज विचार राख्नेसँग एकता र ध्रुवीकरण गर्नुपर्नेमा पनि सदस्यहरुको भनाइ रहेको प्रवक्ता महराले बताए । माओवादी बैठक शनिबार बिहान ११ बजे पुन: बस्ने र धारणा राख्ने क्रम जारी रहने महराले जानकारी दिए ।

यी हुन् थपिएका केन्द्रीय सदस्यहरु

आङदावा शेर्पा,इन्दिरा अधिकारी,उमा कपाली,उर्मिला विक,गंगा खड्का,गीताकुमारी कँडेल चौलागाईं,गीता शाही,छमकुमारी खनाल,दिलमाया बुढामगर,नीरमाया श्रीस,निशा न्यौपाने,पार्वती थापा,भगवती तिवारी,मोतीकली चलाउने,कुमारी पुन,लीला शर्मा, सपना परियार,सीता दाहाल,सुशीला घिमिरे,सुशीला पौडेल,सूर्यकुमारी विक,सरु चौधरी