FLASH NEWS

सुन प्रकरणको छानबिन गर्न एमालेको माग कायमै छ : योगेश भट्टराई


नेपाल आवाज २३ श्रावण २०८०, मंगलवार १७:४८ मा प्रकाशित १७४१ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका सांसद योगेश भट्टराईले एक क्विन्टल सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानविन समिति गर्नुपर्ने एमालेको माग यथावत रहेको बताएका छन् ।


प्रतिनिधि सभाको आजको बैठकको सुरुमै उनले सुन तस्कारीको जरोसम्म पुगेर घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उच्चस्तरीय समिति गठन हुनुपर्ने विषयमा विमति राख्न आवश्यक नभएको बताएका हुन् ।

उनले सार्वजनिक लेखा समितिको बैठकले पनि समिति गठन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको स्मरण गराए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सोही विषयमा राखेको सार्वजनिक महत्वको प्रस्तावमा आफ्नो पार्टीको समर्थन गरेको स्पष्ट पारे ।

भट्टराईले तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिबद्धता व्यवहारमा रुपान्तरण भएमा सदनमा एमालेले कुनै अवरोध नगर्ने उल्लेख गरे ।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा बाहिरिएको र पक्राउ परेको करिब एक सय किलो सुन तस्करीका सम्बन्धमा उच्चस्तरीय छानबिनको माग गर्दै एमाले सदनको अवरोध जारी राखेपछि प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो ।

उक्त बैठकमा शीर्ष नेता सदन सञ्चालनमा सकारात्मक भएपछि आजको प्रतिनिधिसभाको बैठक बसेको हो । सो विषयमा अन्य दलका सांसद्ले पनि बोल्ने क्रम जारी छ ।