FLASH NEWS

प्रहरीको असइ भन्दै ठगी गरेको आरोपमा युवती पक्राउ


नेपाल आवाज १ फाल्गुन २०८०, मंगलवार २२:४३ मा प्रकाशित १०९३ पाठक संख्या

काठमाडौं –  आफूलाई नेपाल प्रहरीको असइ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका–६ की २४ वर्षीया अमिलाकुमारी साउद हुन् ।


प्रहरीका अनुसार उनले दैलेखको नारायण नगरपालिका–११ का २६ वर्षीय अमृता विष्टलाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर मिलाइदिने भन्दै एक लाख ५० हजार रुपैयाँ असुल गरेका थिए ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्दै आएका साउदले विष्टलाई विश्वास दिलाउन नेपाल प्रहरीको पोसाक देखाएका थिए । सोही क्रममा उनले असइको फुली लगाएको फोटो पनि विष्टलाई देखाएका थिए ।

उनले आफू सइमा बढुवा सिफारिस भएको भन्दै विष्टलाई विश्वास दिलाएका थिए । रकम लिएपछि भने उनी फरार थिए ।
प्रहरीले उनको डेराबाट नेपाल प्रहरीको ‘वर्किङ ड्रेस’, असइको फुली, अमिलाकुमारी साउद लेखिएको नेम प्लेट, छालाको बुट, छालाको बेल्ट बरामद गरेको छ ।