FLASH NEWS

बागमती प्रदेश : माओवादी केन्द्र नेतृत्वको सरकारबाट बहिरियो नेपाली कांग्रेस


नेपाल आवाज २३ फाल्गुन २०८०, बुधबार १९:२५ मा प्रकाशित १४०५ पाठक संख्या

हेटौंडा – बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् ।


नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको  जानकारी दिए ।

२५ पुसमा माओवादी केन्द्रको नेतृत्वमा एमाले र राप्रपाबीचको सरकार बनेको थियो । तर त्यतिबेला केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि कांग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री जम्कट्टेलले २६ चैत २०७९ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

कांग्रेसबाट २६ चैतमै आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुर सिं लामा र  खानेपानी तथा सिँचाइ मन्त्रालयमा  तीर्थबहादुर लामा मन्त्री नियुक्त भएका थिए ।

त्यसपछि ७ जेठ २०८० मा वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयमा पुकार महर्जन,  स्वास्थ्य मन्त्रालयमा उत्तम जोशी मन्त्री नियुक्त भएका थिए । कांग्रेसबाट ७ जेठमै नियुक्त भएका मन्त्री रामकृष्ण चित्रकारलाई मुख्यमन्त्री कार्यालयमा एउटा कार्यकक्ष उपलब्ध गराएर करिब साढे ३ महिना विनाविभागीय राखिएको थियो । चित्रकारले १७ भदौमा मात्रै उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

१२ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा कांग्रेसले ६, माओवादीले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय भागबण्डा गरेर सरकार बनाएका थिए । सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी भने सरकार बाहिरै थियो ।