FLASH NEWS

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुन पक्राउ


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार १८:५६ मा प्रकाशित ५४१३ पाठक संख्या

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरीएको हो ।  उनलाई प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ ।


पुन र होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङ ( ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए  ) को सम्बन्ध रहेको तथ्य प्रहरीले पत्ता लगाएको थियो भने पूर्व उपराष्ट्रपति पुनको परिवार नै तस्करीमा जोडिएको विवरण समेत खुलेको थियो। ६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर उनीसँग बयान लिएको थियो।

दावा यसअघि नै पुर्पक्षका लागि थुनामा छन्। पुनलाई दावासँगको सम्बन्ध लगायतका विषयमा सोधपुछ गरिएको थियो। आयोगले सुन तस्करीमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्न सिफारिस गरेको छ।

गत साउन २ गते बरामद भएको साढे ६१ किलो तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुन दोषी देखिएका थिए। सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई सत्ता र शक्तिको आडमा नउम्किनेगरी कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि गृहमन्त्री रवि लामिछानेले प्रक्रिया अघि बढाएका हुन्।

सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत आयोगको प्रतिवेदन कार्यान्वयमा लैजाने निर्णय गरेलगत्तै दीपेश समातिएका हुन्।