FLASH NEWS

गृहमन्त्री रवि र चीनका राजदूत छन सङबीच भेटवार्ता,दिए चीन भ्रमणको निम्तो !


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार २०:१९ मा प्रकाशित ५७७ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि चीनका राजदूत छन सङबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।


भेटमा राजदूत छनले नेपालको बृहत्तर हितका लागि सधैं सहकार्य हुने भन्दै सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको बताए ।

त्यस्तै कानून कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभूवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।

गृहमन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विशेषतः विपद्का बेला चीनले गर्दै आएको सहयोग अविस्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखेको बताइएको छ ।

साथै भेटवार्ताकै क्रममा चीनका राजदूतले समकक्षी वाङ्ग छियाहङ्गका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निम्तोसमेत दिएका छन् ।