FLASH NEWS

सुनसरीका पाँचवटा पालिकामा कर्फ्यु जारी


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार १९:२० मा प्रकाशित ८४१ पाठक संख्या

विराटनगर – सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ ।


शुक्रबार ५ बजेदेखि अनिश्चित कालकालागि कर्फ्यु आदेश जारी भएको हो । सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।

कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि पाँचपालिकामा कर्फ्यु लगाइएको हो ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ।

यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिती सृजना भएपछि शान्ति सुरक्षा कायम गर्ने हेतुले सो सूचना जारी गरिएको बताइएको छ।

एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका– १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको भएपछि प्रहरीले ५१ राउण्ड हवाई फायर गर्नुपरेको थियो ।

भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए । अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठकले कर्फ्यु लगाउने विषयमा छलफल भएको थियो । त्यसपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा समेत तोड्न थालिएपछि प्रहरीले केही अश्रुग्यास र हवाई फायर गरेको थियो ।