FLASH NEWS

आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद सोविता गौतमले गराइन् सरकारलाई ध्यानाकर्षण


नेपाल आवाज २१ श्रावण २०८१, सोमबार १४:३४ मा प्रकाशित २७१ पाठक संख्या

काठमाडौँ। रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताइन्।


सांसद गौतमले घटना विवरण यसरी सुनाइन्:

आइतबार साँझ म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाढी पहिरो अवलोकन गर्न जाँदै थिएँ। त्यसक्रममा कागेश्वरी मनहरा ६ मा रहेको मनकामना टोलमा पुगेँ। मुलपानी क्रिकेट स्टेडियमबाट अपोजिट साइडमा रहेको डाँडातिर एउटा मन्दिरजस्तो छ।

त्यो मन्दिरको मुनितिर एउटा घर र चिया पसल छ। त्यो कटेपछि गाउँ समाज छ। म त्यहाँ जाँदै सुरुमा मलाई पहिरो देखाउन केही स्थानीयहरू चिया पसलमा कुरेर बस्नुभएको थियो।

त्यसपछि हामी त्यो पहिरो भएको ठाउँमा पुग्यौं। र, त्यहाँबाट फर्केर आउने क्रममा त्यो चिया पसलमा १५, २० जना मानिस जम्मा भइसक्नुभएको थियो। ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन।

उहाँहरू कोही गाँजाको नसामा लट्ठ र कोही रक्सीले मात्तिएको अनि कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो। म त्यहाँ आइपुग्दा एकाएक उहाँहरूले घेर्न थाल्नुभयो र तपाई बुढो मान्छे भएको ठाउँमा मात्र जाने? भन्दै प्रश्न गरियो। र चक्रव्यूह रचियो, घेरियो अनि मुख छाडियो।

मैले कुरा राख्नुस् भनेर निवेदन गर्दै थिएँ तर ‘तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्दहरू प्रयोग गरेर आक्षेप लगाउने काम भयो। त्यसपछि मलाई अलि चुनौती फिल भएर चिया पसलतर्फ गएँ तर कतिले भिडियो उतार्नुभयो। मलाई दुर्व्यवहार गर्ने शैलीमा। त्यसपछि मेरो स्वकीय सचिवले बौद्धको डीएसपीलाई घटनाबारे जानकारी पनि गराउनुभएको छ। तर घर गएपछि भिडियो हेर्दा मेरो मात्र भिडियो पोस्ट गरिएको रहेछ।

त्यो व्यक्तिको प्रोफाइल हेर्दा कुनै एउटा राष्ट्रिय दलको सङ्गठनको साथी भएको पाइयो। विवादमा पार्ने हिसाबले एउटी महिलालाई यसरी बाटो ढुकेर यस्तो व्यवहार गर्ने हो भने अब म आफ्नो निर्वाचन क्षेत्रमा जाँदा पनि चौतारो हेर्दै हिँड्नुपर्ने हो? सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने? यस्ता गम्भीर विषयलाई सरकारले ध्यान दिन जरुरी छ।