काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौँ जिल्ला अदालतमा सुरु भएको छ। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त बहसमा सहभागी भएका छन्।
बुधवार, थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएपछि यो प्रक्रिया सुरु भएको हो। लामिछानेमाथि काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको आरोपमा अभियोग पत्र दायर गरिएको छ। लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए।
प्रहरी अनुसन्धान अनुसार, लामिछानेले गोरखा मिडिया नेटवर्कमार्फत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेका छन्। यस घटनामा रवि लामिछानेसँगै उक्त रकम बिगो मागदावी गरिएको छ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र पछि रमण श्रेष्ठले बहस गर्नेछन्। उनीहरूको बहसपछि सरकारी वकिलले जवाफी बहस प्रस्तुत गर्नेछन्। त्यसपछि न्यायाधीशले लामिछानेलाई कारागार पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने निर्णय गर्नेछन्।