नयाँ दिल्ली । भारतको गृह मन्त्रालयले दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि रक्सी नीतिमा घोटालासम्बन्धी मुद्दा चलाउन अनुमति दिएको छ। गृह मन्त्रालयले प्रवर्तन निर्देशनालय (ईडी)लाई केजरीवालको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा चलाउन स्वीकृति प्रदान गरेको हो।
गत वर्षको नोभेम्बरमा भारतीय सर्वोच्च अदालतले लोकसेवकमाथि मुद्दा चलाउन अनुमति लिनुपर्ने आदेश दिएको थियो। केजरीवाललाई ईडीले मदिरा घोटालामा मास्टरमाइन्ड र किंगपिनको रूपमा प्रस्तुत गर्दै आएको छ।
केन्द्रीय गृह मन्त्रालयले केजरीवाललाई मदिरा घोटाला र सम्पत्ति शुद्धिकरणमा संलग्न भएको आरोपमा सम्पत्ति शुद्धिकरण अधिनियम (पीएमएलए) अन्तर्गत मुद्दा चलाउन ईडीलाई निर्देशन दिएको स्रोतका अनुसार एएनआई समाचार एजेन्सीले यो जानकारी सार्वजनिक गरेको छ।