FLASH NEWS

सिंहदरबारमा विपक्षी दलहरूको बैठक, चार प्रमुख मुद्दामा छलफल


नेपाल आवाज २ माघ २०८१, बुधबार १२:०३ मा प्रकाशित ३१ पाठक संख्या

काठमाडौं । बुधबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा विपक्षी दलहरूको बैठक सम्पन्न भएको छ। यस बैठकमा प्रमुख चार बुँदामा छलफल गरिएको र सरकारको हालको कार्यशैलीप्रति विपक्षी दलहरूले चिन्ता व्यक्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए।


बैठकमा सरकारको हिउँदे अधिवेशन समयमा बोलाउन ढिलाइ गरेको बारेमा पनि गहिरो छलफल भएको थियो। अर्यालका अनुसार, “सरकारले विपक्षी दलहरूको आवाज नसुन्ने हो भने विशेष अधिवेशनको माग गर्नुपर्ने स्थिति आउन सक्छ।” यससँगै, सरकारले संसदको अधिवेशन नबोलाई अध्यादेशमार्फत शासन चलाउन खोजिरहेकोमा विपक्षी दलहरूले आपत्ति जनाएका छन्।

बैठकले संसदमा विचाराधीन विधेयकलाई अध्यादेशको रूपमा जारी गर्नु गैरसंवैधानिक भएको ठहर गरेको छ। अर्यालले भने, “यी विषयमा गहिरो छलफल गरेका छौं र हाम्रो साझा धारणा बिहीबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्नेछौं।”

बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राप्रपा र आम जनता पार्टीका शीर्ष नेताहरू सहभागी थिए। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा भएको यस बैठकमा प्रचण्ड, अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ लगायत नेताहरूबीच कुराकानी भएको थियो।