काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्नका लागि देशभरि चार्जिङ स्टेशनहरूको संख्या बढाउनु आवश्यक रहेको बताए।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) द्वारा आयोजित २५ वर्ष पूरा भएको अवसरको इप्पान इभी र्यालीमा सहभागी हुँदै घिसिङले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भइरहेको उल्लेख गरे। उनले भने, निजी सवारी साधन मात्र होइन, अहिले यात्रुवाहक सवारी साधनहरू पनि विद्युतीय ढाँचामा परिणत भइरहेका छन्।
घिसिङले विद्युतीय सवारी साधनको वृद्धिलाई ठूलो परिवर्तनको संकेत भन्दै यसको माग बढाउने अभियानलाई प्राधिकरणले प्राथमिकताका साथ अघि बढाएको बताएका छन्। उनले इप्पानको इभी र्यालीले यस अभियानलाई महत्वपूर्ण योगदान पुर्याएको पनि उल्लेख गरे।
उनले थपे, “पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद बिक्री भएको छ, तर यसलाई मात्र बढाउनका लागि पर्याप्त छैन।” उनले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरू निर्माण गर्न जरुरी रहेको कुरामा जोड दिएका छन्। यसका साथै, उनले सरकारले निजी क्षेत्रलाई ठूलो सहुलियतका साथ प्रोत्साहित गरेको र ६ सय भन्दा बढी चार्जिङ स्टेशनहरू निजी क्षेत्रले स्थापित गरेको जानकारी पनि दिए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताएका छन्। उनले विद्युत् उत्पादनको वृद्धि भइरहेका बेला यसको भित्रै प्रयोगलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् र सबैले विद्युतीय सवारी साधन प्रयोग गर्ने वातावरण सृजना गर्न सरकारको भूमिका आवश्यक रहेको धारणा राखेका छन्।