राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीले आगामी दिनमा गर्ने आन्दोलन लगायत समसामयिक विषयमा देहायका निर्णयहरू गरेको छः-
१. आन्दोलनका सम्बन्धमा
क) प्रहरी हिरासतमा रहनुभएका नेता कार्यकर्ताहरूको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने।
ख) पार्टीको मुद्दाको स्थापनाका पक्षमा तथा पार्टीका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री एवं सांसद डा. धवल शमशेर राणा लगायत प्रहरी हिरासतमा रहेका सम्पूर्ण नेता एवं कार्यकर्ताको निःशर्त रिहाई र गत चैत्र १५ गते तिनकुनेमा राज्यपक्षबाट भएको दमनको घटनाको निष्पक्ष न्यायिक आयोग गठन गर्न दबाब दिन वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने।
ग) आगामी वैशाख ९ गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन र धर्नाको कार्यक्रम गर्ने।
घ) संवैधानिक राजसंस्था हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका मुद्दाहरुमा समर्थन जुटाउन सबै पक्षसँग छलफल र अन्तरक्रियाका कार्यक्रमहरु सञ्चालन गर्ने।
ङ) उपत्यकाको सबै वडा तहमा आन्दोलनको तयारी र विविध कार्यक्रम गर्ने, यसका लागि केन्द्रीय/प्रदेश तहका नेतृत्वलाई खटाउने।
च) आन्दोलन सम्बन्धी विषयमा योजना बनाउन तथा तत्काल आवश्यक निर्णय लिन परेमा पार्टीका अध्यक्षको संयोजकत्वमा पूर्व अध्यक्षहरू र उपाध्यक्षहरू रहेको समितिलाई जिम्मेवारी दिने।
छ) राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नरहने केन्द्रीय कार्यसम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्यसमितिलाई जानकारी गराउने।
ज) आन्दोलनको कार्यक्रम सँगसँगै जिल्ला अधिवेशनको कार्यक्रमलाई समेत निरन्तरता दिने।
२. हाल काठमाडौँमा भइरहेको शिक्षकहरूको आन्दोलनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। शिक्षकहरूको माग तत्काल सम्बोधन गरी विद्यालय भर्ना कार्यक्रम एवं नजिकै आइरहेको कक्षा १२ को परीक्षा नरोकिने व्यवस्था गर्न राप्रपा सरकारसँग माग गर्दछ।
३. लामो समयदेखि आन्दोलनमा रहेका सहकारी पीडितको समस्या तत्काल सम्बोधन गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ।