काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व मन्त्री प्रेम आलेले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिकरण प्रकरणमा व्यापक भ्रष्टाचार भएको दाबी गरेका छन् । उनले भैरहवा विमानस्थलको लागि अधिकरण गरिएको ४ सय विघा जग्गा किसानसँग प्रतिविघा ३ लाखमा खरिद गरेर विचौलियाहरुले सरकारलाई प्रतिविघा ४ करोड रुपैयाँमा विक्री गरिएको बताएका हुन् ।
‘यहाँका किसानहरुसित अघिल्लो पटक म आएर बुझ्दाखेरी ३ लाख रुपैयाँ विघामा विचौलियाले खरिद गरेको र ४ करोड रुपैँयामा सरकारलाई बिक्री गरिएको । भनेपछि कति भ्रष्टाचार भएको रहेछ ? तपाई आफैं अनुमान गर्नुस् । ३÷४ लाख रुपैयाँमा खरिद गरिएको छ । ४ करोडभन्दा बढीमा सरकारलाई विक्री गरिएको छ,’– उनले भने ।
नेता आलेले भैरहवा विमानस्थलमा व्यापक भ्रष्टाचार भएको र अहिले त्यहाँ बाख्रा, भैंसी चरिरहेको र अनावश्यक रुपमा उक्त जग्गा किनेर भ्रष्टाचार भएको दाबी गरे । उनले खोलानाला डुवान क्षेत्रको जग्गा खरिद गरेर राज्यलाई आर्थिक भारमा पारिएको बताए । सरकारको ५० अर्ब पैसा भैरहवाको एयरपोर्टमा खरिद गरेर बालुवामा पानी हालेजस्तै लगानी गरिएको उनले बताए ।
‘मैले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्रेलर भनेको थिए, फिल्म चाहीँ भैरहवा भनेको थिएँ । लु हेर्नुस् यो फिल्म होइन ? जहाँसम्म तार लगाएको छ, त्यो एयरपोर्ट भइहाल्यो । यहाँ दुई जना मान्छे बराबर डुवान हुन्छ । यो अनावश्यक हो । यहाँ बाख्रा, भैसी चरिरहेको छ, माछा मारिरहेका छन् । यो जग्गाको काम नै छैन । अनावश्यक रुपमा जग्गा किनेर भ्रष्टाचार भएको छ । अब छिट्टै यसको तथ्यसत्य बाहिर आउँछ,’– उनले भने ।