FLASH NEWS

रास्वपा नेता परियारको उच्च अदलतको फैसलालक्षित आपत्तिः जातीय विभेद छैन भनेर सत्य लुकाउन खोजियो


नेपाल आवाज ३० बैशाख २०८२, मंगलवार १४:५४ मा प्रकाशित ५५ पाठक संख्या

काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले देशमा जातीय विभेद छैन भनेर सत्य लुकाउन खोजिएको टिप्पणी गरेका न् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले लगभग ३५ सय वर्षअघिदेखि नै दक्षिण एसियाको भूमि जातीय विभेदले थिलथिलो रहेको बताए । नेता परियारले रुकुम पश्चिमका नवराज विकसहित ६ जना हत्या प्रकरणमा उच्च अदालतले गरेको फैसलालक्षित गर्दै सत्य लुकाउन खोजेर न्यायबाट भाग्ने कोशिस भएको बताए । उक्त घटनामा उच्च अदालतले सबै प्रतिवादीहरुलाई जातीय विभेद कसुरमा सफाइ दिएको थियो ।


‘अदालतको निर्णयप्रति मेरो प्रश्न होईन । म त्यो दुष्साहस गर्न सक्दिनँ । तर यो देशमा जातीय विभेद छैन भनेर भन्न खोजिएको के हो ? यो सत्यलाई लुकाउन खोजिएको हो ? सत्यलाई लुकाएर लुक्दैन । ३ हजार ३५ सय वर्षअघिदेखि नै यो दक्षिण एसियाको भूगोल जातीय विभेदले थिलथिलो परेको छ । हामी सत्य लुकाउन खोजिरहेका छौं । सत्य लुकाएपछि न्यायबाट भाग्न सजिलो हुन्छ । अनि हामी न्यायबाट भागिरहेका छौं । के हामी लोकतान्त्रिक भयौं ?’ प्रश्न गर्दै उनले भने ।

नेता परियारले संविधानमा लिपीवद्ध भएका जनताका अधिकारहरुलाई यथार्थ कार्यान्वयन गर्ने खालको बजेट ल्याउनसमेत सरकारलाई सुझाव दिए । संविधानले जे–जस्तो व्यवस्था गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सरकार गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ । साथै, उनले अहिले दुई ठूला दलको दुइ तिहाइ नजिकको सरकार रहेको बताउँदै जनताले ठूलो दल भन्दा पनि राम्रो दल खोजेको पुष्टि भएको बताए । ठूलो दल भएरमात्रै समस्याको समाधान नहुने कुरा वर्तमान सरकारको गतिविधि र काम कारबाहीबाट पुष्टि भएको बताए ।