FLASH NEWS

राप्रपा सांसद अनिशा नेपालीको टिप्पणीः ‘संघीय प्रणाली म्याद नाघेको औषधि जस्तो’


नेपाल आवाज ३० बैशाख २०८२, मंगलवार १७:२८ मा प्रकाशित ७३ पाठक संख्या

काठमाडौं, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधिजस्तो भएको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन् । विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको उनको टिप्पणी छ ।


उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट भएको जिकिर गरिन् । वर्तमान व्यवस्था अग्रगमन नभएर प्रतिगमन भएको उनको भनाइ छ । उनले शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन, सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँड हुनुपर्नेमा त्यस्तो नभएको बताइन् ।

उनले भनिन्, ‘अहिले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि जस्तै हुँदैछ सभामुख महोदय । विश्वको सिको गर्न खोज्दा आज नेपाल ग्रे लिष्टमा पर्‍यो । समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट देखिएको छ । यो व्यवस्था अग्रगमन नभएर प्रतिगमन हो । सर्वप्रथम त राज्यको पुनःसंरचना गर्ने भनेपछि त्यसलाई विभिन्न कुराले प्रभाव पारेको हुन्छ सभामुख महोदय ।

शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँड हुनुपर्ने हो । तर यहाँ त्यस्तो देखिँदैन ।’ उनले सरकारले फरक विचार बोकेकै कारण तीनकुने घटनापछि राप्रपा नेताहरुलाई थुनेको भन्दै आपत्ति जनाइन् ।