मोरङ्ग, ३० वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्ण रुपले असफल भैसकेको टिप्पणी गरेका छन् । देशमा कुशासन र भ्रष्टाचारीको राज हावी भएको टिप्पणी गर्दै उनले विचौलिया र कमिसनखोरले मुलुक चलाएको आरोप लगाए ।
हिजो ९सोमबार० जसपा नेपालको पहिलो मोरङ जिल्ला अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष यादवले सरकार आफैंले प्रतिबद्धता जनाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनमा कुनै काम नगरेकै कारण सरकार पूर्ण असफल भएको दावी गरेका हुन् ।
सबै नियुक्ति, नीति तथा कार्यक्रमदेखि बजेट निर्माणसम्म बिचौलियाहरू नै निर्णायक भएको भन्दै अध्यक्ष यादवले सबैखाले नियुक्ति लेनदेनका आधारमा हुने गरेको आरोप लगाए । त्यसैको परिणाम म्याद सकिनु एक महिनाअघि नियुक्त गर्नुपर्ने गभर्नर म्याद सकिएको लामो समयसम्म पनि नियुक्त हुन नसकेको अध्यक्ष यादवले बताए ।
व्यक्तिगत महत्वाकांक्षाका कारण यो सरकार गठन भएको भन्दै लूटतन्त्र र कमिसनतन्त्रको चलखेलमा अहिले राज्य चलिरहेको अध्यक्ष यादवको आरोप छ । विधिको शासन स्थापना र अनेक बेतिथिसँगै भयवाह बन्दै गएको भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकले निकाश नपाउने अध्यक्ष यादवले बताए ।