FLASH NEWS

११ गतेदेखि गण्डकीको बजेट अधिवेशन, भोलिपल्टै बजेटको सिद्धान्त पेश


नेपाल आवाज ३ जेष्ठ २०८२, शुक्रबार १३:४८ मा प्रकाशित ४९ पाठक संख्या

पोखरा, २ जेठ। जेठ ११ गतेबाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुने भएको छ । चैत २६ गते सातौं अधिवेशन सकिएको थियो ।


सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्नुपर्ने भएकाले पनि ११ गतेबाट आठौं अधिवेशन बोलाउने निर्णय सरकारले गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा। टकराज गुरुङका अनुसार १२ गते सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी छ ।

प्रदेश सरकारले मन्त्रालयहरुलाई सिलिङ लिएर अहिले बजेट निर्माणको काम गरिरहेको छ । बजेट निर्माणको काम चलिरहँदा यतिबेला सबैजसो मन्त्रालयहरुमा योजना माग गर्दै कागजात लिएर पुग्नेहरुको लर्को लागिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सामाजिक विकास, अर्थ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पर्यटन, कृषि मन्त्रालय लगायतमा योजनाका फाइल बोकेर नेता–कार्यकर्ताहरु पुगिरहेका छन् ।

अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। गुरुङले भने यसपटक अनुशासित बजेट ल्याउने बताए । ‘बजेट दुईखाले हुने रहेछ, एउटा लोकप्रिय तर अलि अनुशासन भंग, अर्को अनुशासित तर कम लोकप्रिय,’ डा। गुरुङले भने, ‘हामीले लोकप्रियभन्दा अनुशासित बजेट ल्याउने तयारी गरेका छौं ।’

केन्द्रले ल्याएको नीति तथा कार्यक्रम, बजेटको सिद्धान्त र प्राथमिकतासमेत हेरेर गण्डकीमा नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिता तय गरिरहेको र अब बजेट पनि त्यसरी नै आउने अर्थमन्त्री गुरुङको भनाइ छ ।

३२ अर्ब ५७ करोडको चालु बजेट ल्याएको सरकारको यसपटक भने आकार घट्ने भएको छ । अहिले करिब २९ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याउने गरी मन्त्रालयहरुमा सिलिङ दिएर योजना छनोटको काम भइरहेको छ ।