FLASH NEWS

पतञ्जली जग्गा प्रकरणमा रामदेव र आचार्य बालकृष्णले मानेनन् बयान दिन


नेपाल आवाज ५ जेष्ठ २०८२, आईतवार १३:२७ मा प्रकाशित ९१ पाठक संख्या

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका संस्थापक योगी रामदेव र उनका साझेदार आचार्य बालकृष्णले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बयान दिन अस्वीकार गरेका छन् । काभ्रेको बनेपामा उद्योग सञ्चालन गर्न हदबन्दी छुटमा लिएको जग्गा हिनामिना प्रकरणमा आयोगले बयानका लागि बोलाएपनि उनीहरूले जग्गा कारोबारमा पतञ्जलीका नेपाल प्रमुख शालीग्राम सिंह नै जिम्मेवार रहेको भन्दै अस्वीकार गरेका हुन् ।


२०६६ माघमा नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले बनेपामा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा ८ सय १५ रोपनी जग्गा किन्न अनुमति दिएको थियो । तर, अढाइ महिनाभित्रै जग्गा बेच्न अनुमति दिएपछि ३ सय ५३ रोपनी बेचिएको थियो । यसरी आयुर्वेद फार्म चलाउने भनेर हदबन्दी छुटमा किनिएको जग्गा डोजर लगाएर धमाधम प्लटिङ गर्ने र बिक्रीवितरण गर्ने योजना बनेपछि त्यस सम्बन्धमा अख्तियारले छानबिन थालेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेद औषधि उद्योग र गाई फार्म चलाउन तथा जडिबुटी खेती गर्न भनी पतञ्जलीले बनेपामा ८ सय १५ रोपनी जग्गा किन्न अनुमति पाएको थियो । छुट सुविधामा किनिएको ५ सय ९३ रोपनीेमध्ये ३ सय ५३ रोपनी जग्गा चक्लाबन्दी गरेर अढाइ महिनामै बिक्री गरिएको थियो ।

जग्गा प्लटिङका लागि बेचेर कम्पनीले धुलिखेलमा ८८ रोपनी १ पैसा १ दाम किनेको छ, त्यही जग्गामा मात्रै पतञ्जली केन्द्र सञ्चालन गरिएको छ । यस कार्यमा संलग्न भएको र मिलिमतो गरेको भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग बयान लिइसकेको छ । तर, आयोगका पदाधिकारीहरुबीच पूर्वप्रधानमन्त्री नेपाललाई मुद्दा चलाउने वा नचलाउने भन्ने सम्बन्धमा मत बाँझिएपछि यो प्रक्रिया नै अवरुद्ध बनेको बताइएको छ । यो बीचमा रामदेव र बालकृष्ण नै पन्छिन खोज्नु झनै आशंकाको विषय बनेको छ ।