FLASH NEWS

साम्राज्ञी भन्छिन्–एभरेष्ट बेसक्याम्प जाने मन छ


नेपाल आवाज ३० पुष २०७९, शनिबार १२:५७ मा प्रकाशित २६९५ पाठक संख्या

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन् । होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जु¥यो । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा पाइला चालेपछि मात्र साम्राज्ञीले नेपाल दिल खोलेर घुम्न पाइन । मनाङ र मुस्ताङबाट घुम्न सुरु भएको उनको यात्राले पहाड र तराई पनि छिचोलिसकेको छ ।


एभरेष्ट बेसक्याम्प चाहना: साम्राज्ञी फिल्मकै सुटिङका लागि मनाङ, मुस्ताङ, पोखरा, तिलिचो ताललगायतका स्थानमा पुगिसकेकी छन् । ‘मलाई अब एभरेष्ट बेसक्याम्प जाने मन छ । फिल्मको कामबाट फुर्सद पाउनासाथ जाने सोच बनाएकी छु । विश्वकै अग्लो स्थान भएकाले पनि त्यहाँ जीवनमा एकपटक पुग्न मन छ’, उनी भन्छिन्, ‘म नेपालमै जन्मेर त्यहाँ पुगेको छैन । तर त्यहाँ पुग्नकै लागि विश्वबाट मान्छे आउँछन् । सायद उनीहरू आएको देखेर पनि हो कि मलाई त्यहाँ जाने लोभ एकदमै छ ।’

विदेशमा इटाली र ग्रीस: साम्राज्ञीले विदेशको हकमा जापान, लण्डन, अष्ट्रेलिया र फिलिपिन्स घुमिसकेकी छन् । शुक्रबारबाट हलमा प्रदर्शनरत फिल्म ‘तिम्रो मेरो साथ’को प्रिमियरका लागि उनी अमेरिका जाने तयारीमा छिन् । यसबाहेक अमेरिकामै हुन लागेको नेफ्टा अवार्डमा पनि उनी उपस्थिति जनाउँदैछिन् ।

साम्राज्ञीलाई इटाली र ग्रीस एकदमै जान मन लागेको देश हो । ‘ग्रीस इतिहासले गर्दा घुम्न जान मन लागेको ठाउँ हो । ग्रीसको इतिहासका बारेमा स्कुल र कलेजमा पढेकी छु । त्यसबारे थप अध्ययन गर्न पनि मलाई त्यहाँ पुग्न मन छ’, साम्राज्ञी खुल्छिन्, ‘इटाली चाहिँ आफैंमा कलरफूल देश हो । यो देश ब्राइट, रोमान्टिक र फिल्मी शैलीको लाग्छ । त्यसकारण यहाँ पनि पुग्ने मन छ ।’

फेरिएको जीवनशैली: घुमन्ते बानीले आफ्नो जीवनमा केही परिवर्तन आएको अनुभव साम्राज्ञीमा छ । दिमागमा कुनै कुरा नराखी घुम्नाले पनि आफू समाज र स्थानीयसँग घुलमिल भएको उनको दाबी छ । ‘म केही सीमा निर्धारण नगरी घुम्छु । किनकी सीमा निर्धारण गर्दा नयाँ कुरा हेर्न पाइदैन । त्यसकारण खुला दिमागले घुम्न रुचाउँछु’ उनी भन्छिन्, ‘घुम्दा धेरै कुरा सिक्न पाइदो रहेछ । ‘ए यस्तो पनि हुन्छ ?’ भन्ने धेरै कुरा देख्न पाएकी छु । मैले खानेकुरामा परिवर्तन पाएकी छु । फरक फरक स्थानका खानाले स्वाद पनि फेरिदिएको छ । मैले पहिलो पटक मुस्ताङमा सिस्नो खाएको थिएँ । त्यहाँको होटलको दिदीले दुधमा हालेर सिस्नो दिनुभएको थियो । घुम्दाको अर्को फाइदा भनेको स्थानीयको बोली र व्यवहारलाई नजिकबाट बुझ्नु पनि हो ’

भीडमा जादिनँ: फिल्मको सुटिङ हेर्न भीड नलाग्ने कुरै हुँदैन । त्यो भीडले साम्राज्ञीको घुम्ने कामलाई अवरोध गरेको छैन । ‘फिल्म सुटिङबाहेकको भीडमा म जादिनँ । गएको अवस्थामा पनि नचिन्ने गरी स्कार्फ, टोपी लगाएर अलग्गै बस्छु । कसैले मलाई चिन्नु भएर फोटो खिच्न अनुरोध गर्नुभयो भने त्यसमा स्वीकृति दिन्छु’, उनी भन्छिन् ।

साम्राज्ञीले बाल्यकालमा केही समय भाई र साथीसँग घुम्ने अवसर पाइन् । अहिले उनको भाई अध्ययनरत रहेकाले घुमाईको कारण भाईको पढाईमा अवरोध नहोस् भन्ने उनको चाहना छ । सोहीकारण अहिले फुर्सदमा उनी साथीभाईसँग घुम्न निस्किन्छिन् ।